बिर्तामोड माघ १८ ।। जिल्ला प्रशासन कार्यालय झापाले चौतर्फी विरोध भएपछि झापामा हाउजी बिङ्गो तम्बोला खेल खेलाउन प्रतिबन्ध लगाएको छ ।
जुवाजन्य खेलकै रुपमा पैसा कमाउन हाउजी खेल खेलाउने विकृति बढ्दै गएपछि कार्यालयले अबदेखि खेलाउन नदिने भएको हो । माघ ८ गतेदेखि बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हाउजी खेलाउन लाग्दा प्रहरी प्रशासनले रोक लगाएको हो ।
महोत्सवको दोस्रो दिन हाउजीका लागि माइकिङ गरेदेखि नै विरोध सुरु भएको थियो । आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले तेस्रो दिन हाउजी खेलाएकोमा त्यसपछि प्रहरी प्रशासनले खेलाउन प्रतिबन्ध लगाएको हो ।
त्यसैगरी, आगामी फागुन ७ देखि १७ गतेसम्म बिर्तामोड १० सैनिकबजारमा आयोजना गर्नेगरी सैनिक महोत्सवको अनुमति लिन जाँदा जिल्ला प्रशासन कार्यालयले हाउजी खेलाउने अनुमति नदिएको आयोजकले जनाएको छ ।
हाउजी जुवाजन्य खेल भएको भन्दै चौतर्फी विरोध आएपछि हाउजी खेलाउन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।
यसअघि प्रशासन कार्यालयको अनुमति लिएर झापामा पैसा कमाउनकै लागि लगातार हाउजी खेल खेलाइँदै आएको थियो । प्रत्येक मेला महोत्सवमा हाउजीलाई विकृतिकै रुपमा खेलाइने गरिन्थ्यो ।
कहिलेकाहीँ मात्र नभएर बिर्तामोडको सिटी सेन्टर, अर्जुनधाराको शनिश्चरे बजारलगायतका ठाउँमा पेशाकै रुपमा हाउजी लगातार सञ्चालन गरिएको थियो ।
सरकारी बजेट पचाउन र जुवा खेलाउनकै लागि बाक्लै आयोजना गर्ने गरिएका महोत्सवमा हाउजीसँगै लक्की सिक्सजस्ता जुवाजन्य खेल पनि निर्वाध खेलाउने गरिएको थियो ।
यसअघिका प्रमुख जिल्ला अधिकारीहरुले पनि हाउजीमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका थिए । तर, जनप्रतिनिधिहरुले त्यसलाई मानेका थिएनन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले हाउजीका कारण विभिन्न समस्या आएकाले त्यसलाई खेलाउन अनुमति दिन नहुने बताउँदै आएका थिए ।