ताप्लेजुङ असार २६॥ ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका २ हम्पुखोलामा खाजा खान घरभित्र बसेका बेला घर भत्किदा ६ जना खेताला घाइते भएका छन् । प्रेमवहादुर राईको दुई तले माटो तथा टिनको छाना भएको घर भत्किएको हो ।
जग्गामा सुमनले असारको धान रोपाईंका लागि खेताला बोलाएर काम गरिरहेका थिए । खेतमा मंगलबार काम गर्दै गर्दा खाना खान भनि घर भित्र पसेका बेला घर भत्किँदा ६ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख डिसपी रवि रावलले बताए । प्रेमबहार राई भने सो जग्गा सुमनलाई बन्दगीमा दिएर बेलायत बस्दै आएको बताइएको छ।
डिएसपी रावलका अनुसार सिरिजंघा गाउँपालिका २ निवासी ४३ वर्षीया खड्गबहादुर बानीयाँ, सोही स्थान बस्ने ३८ वर्षीया जानुका बानियाँ, सोही स्थान बस्ने ३० वर्षीया सुविना बानीया घाइते भएका हुन् । उनीहरु कसैको शरिरको विभिन्न भागमा चोट देखिएको छ भने कसैको हात भाँच्चिएको छ । त्यस्तै सिरिजंघा गाउँपालिका २ कै ५३ वर्षकी तीलमाया विक,बालक १० वर्षका रोहित विक घाइते भएको प्रहरी प्रमुख रावलले बताए ।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्याइएको र उनीहरुको उपचार जारी रहेको जनाइएको छ ।