काठमाडौं। साउन ४।।आज शुक्रबार बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बगडगाउँ स्थित सडकमा खसेको पहिरोका कारण हुन सक्ने ठूलो दुर्घटनाबाट बस जोगिएको छ ।
उक्त बस संघीय राजधानी काठमाडौंतर्फ गइरहेको समय अचानक खसेको पहिरोबाट हुनसक्ने ठूलो दुर्घटनाबाट जोगिएको हो। यात्राका क्रममा जयपृथ्वी राजमार्गअन्तर्गत बगडगाउँस्थित सडकमा माथिबाट खसेको पहिरो बसमै परेको थियो ।
बाटोमा लामबद्ध भएर सवारी साधन गुडिरहेका बेला सबैभन्दा पछाडि रहेको बसमा अचानक माथिबाट ठूलो पहिरो खसे पनि पल्टाउन भने सकेन ।
पहिरोले बसको पछाडीको भागलाई छोएर भिरतर्फ धकेले पनी ठूलो आकारको बस भएकाले दुर्घटना हुन पाएन।
अघिल्लो शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका-२९ स्थित सिमलतालमा यस्तै पहिरोले दुईवटा बस सोहोरेर त्रिशूलीमा हालेको थियो । ती दुवै बस अहिलेसम्म फेला परेका छैनन् ।