बिर्तामोड साउन १९।। झापाली लेखक मिलन सङ्ग्रौलाको दोस्रो उपन्यास ‘बावऋ’ लोकार्पण गरिएको छ । काठमाडौंमा जारी किताब जात्रा साहित्यिक महोत्सवमा शुक्रबार लेखकद्वय प्रवीण खतिवडा र सगुना शाहले पुस्तक लोकार्पण गरेका हुन् ।
कार्यक्रममा ‘बावऋ’माथि अन्तरसंवादसमेत गरिएको थियो । बादल, वर्षा र ऋतुको त्रिकोणात्मक प्रेमकथा मात्र नभई बाबु–छोराको सम्बन्ध, द्वन्द्वकालीन समयको भोगाइ, होस्टेल जीवन, गीत र खेल अनि सपना आदिको मीठो प्रस्तुति ‘बावऋ’ रहेको लेखक सगुना शाहले बताइन्
सबै किसिमका पाठकका लागि उपयोगी उपन्यास आएको भन्दै उनले उपन्यासको प्रशंसासमेत गरिन् । उनले भनिन्, ‘उपन्यासको भाषाशैली आकर्षक छ, यसले पाठकलाई बाँधेर राखिरहन्छ ।’
पाँच वर्ष उपन्यासका कथा र पात्रहरूसँगै बाँचेर ‘बावऋ’ लेखन पूरा गरेको लेखक मिलन सङ्ग्रौलाले बताए ।
‘मैले किशोर अवस्थामा भोगेको एक कालखण्डको भोगाइसँग उपन्यास नजिक छ,’ उनले थपे,‘एउटा कालखण्डको भोगाइसँगै हुर्किएको एउटा प्रेमकथा हो ‘बावऋ’ । मनैदेखि भन्न मन लागेको यो कथा अब पाठकका हातमा पुगेको कुराले म एकदम पुलकित छु ।’
बिर्तामोड झापा निवासी संग्रौलाले कथासङ्ग्रह ‘च्याट गर्ल’ र उपन्यास ‘पर्पला’ लेखिसकेका छन्। सङ्ग्रौलाको ‘बावऋ’ तेस्रो कृति हो । फाइनप्रिन्टले प्रकाशन गरेको यस कृतिको मूल्य ५६० रुपैयाँ छ ।