बिर्तामोड कार्तिक ८ ।। यातायातका साधन हरूको चाप बढेसँगै अति व्यस्त बन्दै गएको झापा बिर्तामोड बजारका भित्री सडकलाई एकतर्फी बनाइने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलबाट कात्तिक ११ गतेदेखि सडक एकतर्फी बनाइने निर्णय भएको संघका अध्यक्ष राजु न्यौपानेले बताए ।
निर्णयअनुसार अति नै व्यस्त तथा सधैँ जाम हुने काँकरभिट्टा रोडबाट हिकोला रोड हुँदै कृषिथोक रोडमा सवारी साधन एकतर्फी (दक्षिणबाट उत्तर) मात्र सञ्चालन गर्न निर्णय गरेको छ।
त्यस्तै, हिकोला रोडमा प्रत्येक महिनाको १५ गतेसम्म सडकको पूर्वतर्फ र १६ गतेबाट मसान्तसम्म पश्चिमतर्फ दुईपांग्रे सवारी साधन मात्र पार्किङ गर्न पाइने भएको छ ।
त्यस्तै, हिकोला रोडमा सामग्रीहरु लोड अनलोड गर्ने ठुला सवारी साधनलाई बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म प्रवेश निषेध गर्ने र शनिश्चरे रोड ग्लोबल आइएमइ बैंक हुँदै कृषि थोक चोक (चौबाटो) सडक क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय भएको न्यौपानेले बताए ।
छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, बिर्तामोड वडा नम्बर ५ का जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, हिकोला रोडका व्यवसायीको उपस्थिति रहेको थियो ।