मोरङको कानेपोखरी–४ स्थित बयरवन बजारमा हाँस हराएको बिषयमा विवाद हुँदा देवरले भाउजूलाई खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहार गर्ने देवरलाई प्रहरीले पक्राउ गरेको छ।
बर्ष ५५ की शिवमाया श्रेष्ठ(मग्राती) लाई देवर बसन्तले खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।गत शनिबार राती ९ः३० बजे प्रहरीले निजलाई नेपाल टोलबाट पक्राउ गरेको थियो ।शनिबार बजारको दिन साँझ ६ः३० बजे घरमा हाँस हराएको बिषयमा सामान्य विवाद भएको थियो । विवाद बढ्दै गएपछि देवरले धारिलो हतियार खुकुरी प्रहार गरेको थियो । खुकरी प्रहारबाट शिवमायाको दाहिने हातको नाडी र दाहिने पातामा गहिरो चोट लागेको छ । हात छिन्नै लागेको प्रहरीको भनाइ छ । उनलाई तत्काल उपचारका लागि विराटनगर स्थित नोबेल मेडिकल अस्पतालमा भर्ना गरिएको थियो ।
घटना पछि उनी भागेका थिए । गाउँलेहरु भेला भई उनको खोजी कार्य तिब्र भएपछि लुकेर बसेको बसन्त मग्राती आफैले प्रहरीलाई खबर गरी बोलाएको त्यहाँका स्थानीयहरु बताउँछन् । उनी पेशाले सवारी चालक भएको र अन्यत्र नै बस्दै आएका थिए । बयरवनको घर आएको धेरै समय नभएको त्यहाँका स्थानीहरुले बताए ।
शिवमाया श्रेष्ठ(मग्राती)को श्रीमान डेढ बर्ष अघि मृत्यु भइसकेको छ । उनी पनि टिफर चालक थिए । खुकुरी प्रहारबाट भाउजू शिवमाया गम्भीर घाइते भएको रमाइलो स्थायी प्रहरी चौकीका सई मोहन प्रसाद प्रधानले बताए । उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाउन थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।