बिर्तामोड मंसिर १ ।। बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१आजबाट झापाको बिर्तामोडमा सुरु हुँदैछ ।महोत्सव बिर्तामोड ५ स्थित सिटी सेन्टर उत्तर धर्म काटा रोडमा रहेको खाली मैदानमा आयोजना हुँदै छ।
मंसिर १ गतेदेखि १५ गते सम्म सञ्चालन गरिने महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समिति र नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशको संयुक्त आयोजनामा महोत्सवको आयोजना गरिएको हो ।
नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका अध्यक्ष विजय तामाङले पर्यटन र चलचित्र क्षेत्रको प्रवर्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए ।
उनले महोत्सवमा तामाङ समुदायको भेषभुषा, सांस्कृतिक प्रदर्शनी गरिने बताए । महोत्सवस्थललाई तामाङ समुदायको भेषभुषा लगायतका सामग्रीबाट सजावट गरिने बताइएको छ
विभिन्न मनोरञ्जनका कार्यक्रमसँगै दैनिक कला संस्कृति झल्किने चलचित्रसमेत देखाइने तयारी गरिएको नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले जानकारी दिए । उनका अनुसार महोत्सवमा राष्ट्रियदेखि स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ ।
महोत्सवमा चलचित्र प्रदर्शनी, चलचित्रकर्मीलाई सम्मान, चलचित्र र पर्यटनसम्बन्धी अन्तरक्रिया साथै विभिन्न व्यावसायिक स्थलहरु रहने छन् ।
महोत्सवमा सातवटा नेपाली चलचित्रहरु मंसिर ३ गतेदेखि ९ गतेसम्म प्रदर्शनी गरिनेछ । तामाङले बानरसेना, नालापानी, माङ्गेना, लीलामे माइला, बिहे पास, चारधाम र कृष्णलीला चलचित्र प्रदर्शनी गरिने जानकारी दिए ।
महोत्सवमा विभिन्न २२ वटा व्यावसायिक स्टलहरु रहने बताइएको छ । जुवारहित महोत्सव आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा एक करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने र ५ लाख दर्शकहरुले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।