बिर्तामोड मंसिर २४ ।। आफ्नै घरमा काम गर्न राखिएकी १७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिका – ५ स्थित आफ्नै घरमा घरेलु कामदार राखेर पटकपटक करणी गरेको आरोप शिवाकोटीमाथि लागेको छ । बालिकाको जाहेरीपछि प्रहरीले आज शिवाकोटीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार पीडित किशोरीका बुबा छैनन । आमा भारतमा छन् ।
आमाले पनि दोस्रो विवाह गरेपछि शिवाकोटीले घरको काम गर्ने र पढाउने भन्दै आफ्नो घरमा ल्याएका थिए । उनी प्राविधिक विषय पढिरहेकी छन् ।
शिवाकोटीबाट पटकपटक बलात्कृत भएकी किशोरी कलेजबाट भागेर आमा भएको स्थान भारतको आसाम जान खोज्दा माइती नेपालको काकडभिट्टामा रहेको टोलीले रोकेर सोधपुछ गरेको थियो । सोधपुछको क्रममा शारीरिक शोषण भएकोे खुलेको थियो । माइती नेपालले उद्दार गर्दा उनी कलेजको ड्रेसमै थिइन् । त्यसपछि बालिकाको बयानको आधारमा शिवाकोटीलाई पक्राउ गरिएको हो।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीबाट प्रतिनिधित्व गर्दै उनी बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।