काठमाडौं।९ फागुन।। गएको माघ महिनामा देशभर ४ सय ७८ वटा आगलागीका घटना भएका छन्।उक्त घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन्। मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन् । घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएको उनले बताएका छन् ।
त्यसैगरी घटनाबाट १७ परिवार विस्थापित भएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आगलागी नियन्त्रणमा तीन हजार ५०३ जना प्रहरी परिचालन गरिएको थियो ।
कोशी प्रदेशमा एक सय २९ वटा, मधेशप्रदेशमा ८९, बागमती प्रदेशमा ४२, काठमाडौँ उपत्यकामा ३७, गण्डकी प्रदेशमा ३९, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा ३२ र सुदूरपश्चिम प्रदेशमा ४७ आगलागीका घटना भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट रु १८ करोड ४८ लाख भन्दा बढीको आर्थिक क्षति भएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा समेत उल्लेख छ ।