उरुग्वेले कोपा अमेरिका २०२४ मा आइतबार क्यानाडालाई टाइब्रेकरमा ४–३ पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । प्रतियोगिताको सेमिफाइनलमा पराजित दुई टिमबीच यो खेल भएको हो ।
पेनाल्टीमा उरुग्वेका लागि चारै प्रहार गोलमा परिणत गरेको थियो । क्यानडाका लागि भने इस्माल कोने गोल गर्न चुके । उनको प्रहारलाई सर्जिओ राचेटले रोकेका थिए । यस्तै अल्फोन्सो डाभिसको प्रहार पोस्टमा लागेको थियो ।निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा टुंगेको थियो र त्यससँगै खेल सिधै पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो ।
उरुग्वेले आठौं मिनेटमा रोड्रिगो बेन्टकरको गोलले अग्रता लिएको थियो । पहिलो हाफको २२ औ मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो र कोनेको नाममा रह्यो ।
जोनाथन डाभिडले ८० औं मिनेटमा क्यानडाका लागि निर्णायक गोल गरे । खेलको अन्त्यतिर उरुग्वे चर्को दबाब सिर्जना गरेपछि इन्ज्युरीको दोस्रो मिनेटमा लुइस स्वारेजले गोल गरे र खेल बराबरीमा टुंगियो ।
प्रतियोगिताको फाइनलमा सोमबार डिफेन्डिङ च्याम्पियन तथा विश्व च्याम्पियन अर्जेन्टिनाले कोलम्बियाको सामना गर्दैछ । सेमिफाइनलमा अर्जेन्टिनाले क्यानाडा र कोलम्बियाले उरुग्वेलाई हराएको थियो ।