अर्जुनधारा साउन १२।। राष्ट्रिय युवा संघ नेपाल अर्जुनधाराले अर्जुनधारा जलेश्वर धामको खडेबाबा स्मृति पार्कमा सरसफाईसहित वृक्षारोपण गरेको छ । युवा संघले अघि सारेको ‘एक युवा, पाँच बिरुवा’ अभियान अन्तर्गत वृक्षारोपण गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि युवा संघकी स्थायी कमिटी सदस्य तथा संगठन विभाग सचिव रोजिना पाण्डेले प्रकृति संरक्षणका लागि युवा संघले हरेक महिनाको शनिवार वृक्षारोपण गरिने बताइन् ।
विश्वमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटीले शुरु गरेको अभियान अन्तरगत अर्जुनधारा नगरपालिकामा वृक्षारोपण भएको हो ।
कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश सदस्य भोला परियार, धाम समितिका शिवलाल खतिवडा, अर्जुनधारा नगरपालिका कार्यपालिका सदस्य कौशिलाल परियार, वडा नम्बर ७ का वडाध्यक्ष गोविन्द खतिवडा, सदस्य हरि कटवाल लगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय युवा संघ वडा नम्बर ७ का अध्यक्ष विशाल लामिछानेको अध्यक्षतामा आयोजित सरसफाई तथा बृक्षारोपण कार्यक्रममा सशस्त्र र नेपाल प्रहरीको पनि सहभागिता रहेको थियो ।