कुरा हो बिर्तामोड नगरपालिका –७ स्थित नेपाल चोककी मञ्जुकुमारी नेपालले बैंकमा बचत गरेको रकम को। उनले बिर्तामोडस्थित प्रभु बैंकमा जम्मा गरेको रकम बराबरको पैसा निकाल्न जाँदा बैंकको खातामा नरहेको खुलेसँगै उनको पैसा जोखिममा परेको हो ।

प्रभु बैंकका मार्केटिङ अफिसर प्रमोद सिटौलाले बैंकमा रकम जम्मा गर्ने भन्दै नेपालबाट रकम लगेको खुलेको छ । सिटौलाले पटकपटक रकम जम्मा भएको भौचरहरु दिए पनि सिष्टम बिग्रिएको भन्दै मोबाइलमा म्यासेज नआउन गरेको बताउने गरेका थिए । मार्केटिङ अफिसर सिटौलाले बैंकमा जम्मा भएका स्टेटमेन्टहरु दिए पनि बैंकमा बुझ्न जाँदा जम्मा दुई लाख रुपैयाँ मात्रै बचत रहेको भन्दै बैंकले फर्काई दिएपछि बैंकको बदमासी बाहिर आएको हो ।

पीडित नेपाल र श्रीमान टीकाराम ‘नेति’ नेपालले अमेरिका जानुअघि ६ महिनाका लागि फिक्स डिपोडिटमा एक करोड १९ लाख ९३ हजार एक सय ४९ रुपैयाँ ८४ पैसा जम्मा गरेका थिए । उनीहरुले फिक्स डिपोजिटको रसिद माग गर्दा सिटौलाले ब्यालेन्स सर्टिफिकेट र डिपोजिट गरेको सक्कल कपी दिएपछि नेपाल दम्पत्ती अमेरिका गएका थिए ।

अमेरिकाबाट फर्किएपछि रकम झिक्न जाँदा रकम नै नभएको भनी चेक रिटर्न गरेपछि प्रभु बैंकका कर्मचारी सिटौलाको बदमासी बाहिरिएको हो । बैंकका शाखा प्रमुखसहितको कर्मचारीको मिलेमतोमा रकम अपचलन गरेको हुन सक्ने आशंका गरिएको छ ।

बैंकमा रकम नभएको जानकारी प्राप्त भएसँगै पीडित नेपालले जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएका छन् । उजुरी लगत्तै बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै बैंकमा पेश गरिएका प्रमाणसहित उनले आफ्नो रकम सिटौलाको बदमासीका कारण गायव हुने स्थितिमा पुगेको गुनासो गरे । बैंकले कर्मचारीको बद्मासीका विषयमा अनुसन्धान थालिएको जानकारी दिएको छ ।

बैंकका शाखा प्रवन्धक गणेशबहादुर बरालले सिटौलाले गरेको बदमासीका विषयमा केन्द्रले विहीवारबाटै झापा आएर अनुसन्धान शुरु गर्ने जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै पीडित नेपालले आफूले विभिन्न कारोबार तथा छोराहरुले विदेशबाट पठाएको रकम जम्मा गरेर आफू पनि विदेश गएको र ६ महिनापछि पैसा निकाल्न जाँदा रकम नै गायव पारिएको उल्लेख गरे ।

सिटौला बुधवार विहान आफूसँगै चन्द्रगढीबाट बिर्तामोड आएको र रकम आफूले निकाल्ने आश्वासन दिएका थिए । बैंकमा उजुरी गरेर आफूमाथि दवाव दिएको गुनासो गरेका उनले पीडित दम्पत्तीलाई रकम यताउता मिलाएर आफूले नै राखिदिएको र कुनै रकम नहराउने भन्दै आश्वास्त पारेका थिए । सिटौला बुधवार विहान १० बजे ग्याष्टिकको औषधि लिन भनी निस्किए लगत्तै फरार रहेको जनाइएको छ । उनले फरार भए लगत्तै सामाजिक सञ्जाल फेसबुक डिएक्टिभ गरेका छन् भने मोबाइल अफ गरेका छन् ।

बैंकमा आफूले जम्मा गरेको रकम नै गायव भएपछि नेपालले त्यस विषयमा अनुसन्धान गरेर नागरिकको रकम सुरक्षित गरिदिन सम्बन्धित निकायसँग माग समेत गरेका छन् । बैंक तथा वित्तीय संस्थाविरुद्ध अविश्वासका घटना दिनप्रतिदिन बढिरहेका बेला बैंकमा जम्मा गरेको रकम नै गायव भएपछि बैंकमा रकम जम्म गर्नेहरु त्रसित बनेका छन् ।